कम्युनिजम के हो ?
कम्युन अर्थात समाज भन्ने शब्दबाट कम्युनिजम शब्दको शुरूवात भएको मानिन्छ। सन् १८३० मा पेरिसमा सेक्रेट सोसाइटी भन्ने एउटा समूह बनेको थियो । कम्युनिस्ट भन्ने शब्द उनीहरूले सबैभन्दा बढी प्रयोग गरेको शब्द हो । कार्ल मार्क्सले वर्तमान मानव समाज मूलतः धनी (Bourgeois) सर्वहारा (Proletariat) वर्गमा विभाजित हुन्छ तथा यी वर्गका बीचमा सँधै द्वन्द्व हुन्छ, मुनाफाका लागि धनी वर्गले अर्को वर्गको शोषण गरिरहेको अवस्थामाा व्याप्त असमानताका कारण पैदा भएको आक्रोशले समाज विष्फोटको तयारीमा रहेको हुन्छ भनि विश्लेषण गरे । उनका अनुसार यसको अन्तिम समाधान भनेको व्यक्तिको निजी सम्पत्तिको अन्त्य र उत्पादनका साधन जमिन, पुँजी, श्रम हरूमा एकाधिकार को अन्त्य हो । Man will remember the loss of his patrimony greater than the loss of his parents भनेर धनी वर्गले कुनै पनि अवस्थामा आफ्नो पैतृक अधिकार त्याग्न नखोज्ने हुनाले हिंसात्मक क्रान्तिपछि मात्र यो समाधान लागू गर्न सकिन्छ । शोषकीहरू को शासनको अन्त्यपछि मात्र समाज पूर्ण रूपमा समान र समृद्ध हुन्छ । यो व्यवस्थाको नाम कम्युनिजम राखियो, जसका अवधारणाहरू निम्न अनुसार थिए
- समाजका हरेक महत्वपूर्ण कुरामा शोषित वर्गको पार्टीको (Van Guard Party of the Proletariat) पूर्ण एकाधिकार हुनेछ ।
- उत्पादन, उपभोग, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिसंग भन्दा राज्यसंग अधिक हुने कारणले, यस्ता विषयहरू संग सम्बन्धित सबै महत्वपुर्ण निर्णयहरू राज्य नियन्त्रित हुनेछ ।
- यो समाज ईश्वरको अस्तित्व विहिन पुर्णतया विभेद रहित हुनेछ ।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको कम्युनिष्ट घोषणापत्र (१८४८) प्रकाशन भएपछि विश्वमा अहिलेको मुल स्वरूपको साम्यवादको विकास भएको पाइन्छ।यो केवल एक विचारधारा भएकोले समयक्रममा हाँगाहरू विकसित हुँदै हाल आएर मार्क्सवाद लेनिनवाद र माओवाद गरी तीन प्रष्ट हाँगामा विकसित भएको पाइन्छ भने देश तथा समयका आधारमा ती तीन हाँगामा पनि अनेक प्रकारान्त रहेका पाइन्छन् ।आन्दोलनको शुरूवातमा औद्योगिक क्रान्तिका समयमा कारखानाहरू मा काम गर्ने मजदुर र भारदारी प्रथामा आम जनता लगायतका पीडाहरू को विरूद्धमा केन्द्रित रहेर कार्यक्रमहरू संचालन भएको पाइन्छ । धर्मले जनतालाइ एकोहोरो बनाउने तथा मुख्यतः पुँजीवादीहरू ले आफ्नो स्वार्थ पुरा गर्न प्रयोग गरिने भएकाले साम्यवाद धर्म विरोधी हुन्छ र धर्मलाई अफिम मान्छ।
मार्क्सवादका अनुसार यो समाजमा वर्ग सङ्घर्ष भन्ने कुरा हुन्छ जसले समाजमा गति पैदा गर्दछ । पूँजीपती र श्रमिक बीचमा वर्ग सङ्घर्ष व्यवस्थालाई अन्त्य गर्न को लागि हिंसात्मक साधनको प्रयोग पनि मान्य हुने गर्दछ । मार्क्सवाद प्रजातान्त्रिक संस्थालाई बुर्जुवा पुँजीपतिको संस्था मान्छ जो पुँजीपतिको हितको लागि र श्रमिक को शोषण को लागि बनाइएको हो। मार्क्सवाद अन्तराष्ट्रिय साम्यवाद मा विश्वास गर्छ भने आदिम समयमा एक किसिमको साम्यवाद रहेको मानिन्छ । यो वादले समाज वा राज्यमा शासक र शोषित तथा पूँजीपती र श्रमिक अनिवार्य छ। यसको उदाहरण पेरिस कम्युनलाइ लिन सकिन्छ।
लेनिनको नेतृत्वमा मार्च १९१९ मा कम्युनिस्ट इन्टरनेसनलको स्थापना भयो । लेनिनवादले श्रमिकवर्ग उत्थानका लागि एक तानाशाही नेतृत्व तथा वैधानिकताको लागि एक क्रांतिकारी पार्टीको स्थापना गर्ने बिचार बोक्छ । पार्टीको कार्य भनेको आम नागरिकहरू लाइ राजनीतिक चेतना (शिक्षा र संगठन) प्रदान गरी क्रान्तिकारी नेतृत्वको चयन तथा निर्णयहरू पालना गराउने छ । यस वादले कम्युनिष्ट घोषणापत्र (१८४८) मा उल्लेखित “कम्युनिष्ट पार्टीलाई प्रत्येक देशका मजदुर वर्गका सब भन्दा उन्नत र संकल्पित समुह जसले अरू सबैलाई अगाडि बढाउँदछ” भन्ने वाक्यांशका आधारमा मजदुर बर्गको उत्थान पार्टीको परिकल्पना गरेको छ। मुलभुत रूपमा यस वादको लक्ष्य पूंजीवाद को सफल पतन गर्ने राजनीतिक प्रतिबद्धताका साथ मंजूर गरी क्रान्तिकारी राष्ट्रिय सरकारको गठन गर्ने तथा सबै माध्यमबाट सामाजिक-आर्थिक संक्रमणलाई महसुस गरी समाजवाद स्थापना गर्ने रहेको छ। पुर्व सोभियत संघ यसको उदाहरण हो ।
माओले शुरू गरेको आन्दोलन किसान र उनीहरूको उत्थानका लागि लक्षित थियो, अतः धेरै जमीन हुने जमिल्दारहरू प्रमुख शत्रु हुन्। माओवाद सिद्धान्तलाइ चरमपन्थी अतिवादी मानिने बुद्धिजीवी वर्गको वा उत्तेजित जनसमूहको सहज प्रतिक्रियावादी सिद्धान्त मानिन्छ । यस सिद्धान्त माओको दुइ प्रमुख विचारहरूमा आधारित रही प्रतिपादित भएको हो । एक राजनैतिक सत्ता बन्दूकको नालबाट निस्कन्छ र दुइ राजनीति रक्तपात रहित युद्ध हो भने युद्ध रक्तपात युक्त राजनीति हो । चीनको क्रान्ति यसको सफल उदाहरण हो ।
विश्वमा मिश्रित प्रकारको कम्युनिस्ट विचारधारा पनि व्याप्त रहेको पाइन्छ । कसैले तीनवटै विचारधारा अंगालेका छन भने कसैले एउटा मात्र अझ कसैले आफ्नै माटो सुहाउँदो परिवर्तन समेत गरेका छन् ।
Comments
Post a Comment