नेपालको कम्युनिस्ट आन्दोलन र फुटको शिलशिला
कलकत्तामा २००८ असोजमा भएको पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको थियो तर पार्टी स्थापना गर्दाका संस्थापकहरू कोही पनि नेतृत्वमा बाँकी थिएनन् । पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब तथा पछि शम्भुराम श्रेष्ठलाई पनि थपिएको थियो। केही समय पछि पुनः केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरी राजनीतिक समिति नौ सदस्यीय बनाइयो । पुष्पलालले २००८ सालको प्रथम सम्मेलनपछि पार्टीमा संसोधनवाद प्रवेश गरेको उल्लेख गरेका छन्, मनमोहनले पुष्पलाललाइ महासचिवबाट हटाएपछि पाटनमा भूमिगत रुपमा २०१० सालमा भएको पहिलो अधिवेशनमा भने तत्कालीन महासचिव मनमोहन अधिकारीले नै संसोधनवादलाई संस्थागत रुपमा प्रवेश गराएको उनको ठहर थियो । उक्त अधिवेशनमा मनमोहन अधिकारीले २००६ सालमा नेकपाले जारी गरेको प्रथम घोषणापत्र माथि संसोधनको प्रस्ताव राखेका थिए । पुष्पलालले यसको विरोध गरे तर अल्पमतमा रहँदा रहँदै पनि पार्टीवाट अलग भने भएनन् । प्रथम घोषणापत्र गणतन्त्रवादी भएको तर, दोस्रो अधिवेशनले संसोधन गरेर वैधानिक राजतन्त्र स्वीकार गरेको पुष्पलालले उल्लेख गरेका छन् । अहिले सम्म नेतृत्व तहमा केशरजंग रायमाझी पुगेका थिएनन् तर पनि केन्द्रिय समितिमा राजासहितको संसदीय व्यवस्था मान्नेहरुकै बहुमत थियो । २०१३ सालपछि केशरजंग रायमाझी (त्यतिवेलासम्म उनको राजावादी रुझान प्रष्ट भएको थिएन) महासचिव छानिए । जहाँनिया राणाहरूको विरूद्ध पार्टी स्थापना गरी शुरू गरिएको नेपालको कम्युनिस्ट आन्दोलन राणाहरूको पतनपछि गतिलो विरोधी नपाएर समाजवादी सपना बोकेका बी.पी.को कांग्रेसलाई वर्ग शत्रु मान्न पर्ने वाध्यतामा पुगेको थियो।
२०१६ पुसमा काठमाडौँमा भएको केन्द्रिय समिति बैठकमा नेताहरू ले एक अर्कामाथि आलोचनाको बाढी नै लगाईदिए पछि लगभग सबै नेता आलोचित भए । पुष्पलालमाथि व्यक्तिवादी र नेतृत्वको महत्वकांक्षी भएको आरोप लगाइयो। तुलसीलालमाथि संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको, केशरजंग रायमाझीलाई राजावादी भएको तथा डीपी अधिकारीलाई कांग्रेसपन्थी को आरोप लाग्यो । नेकपाभित्रको खास सैद्धान्तिक मुद्दा संसदीय धार कि गणतन्त्र भन्नेमा बहस पुरा भएन र बहस जारी नै रह्यो तर पार्टी एकता कायम नै रह्यो । १ पुस २०१७ मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि महासचिव केशरजंग रायमाझीले निकालेको समर्थनको विज्ञप्तिले भने पार्टीभित्रको द्वन्द्व सतहमा आयो । पार्टीमा प्रष्ट रुपमा पुष्पलाल संयुक्त संघर्षको लाइनमा आए भने केशरजंग राजाले कांग्रेसलाई तह लगाए भनेर दरबारको समर्थनमा गए । बहुमत केन्द्रिय सदस्य आफ्नो पक्षमा भएकाले केन्द्रिय समितिले तोकिसकेको पार्टीको तेस्रो अधिवेशन गर्न महासचिवले कुनै चासो नदिएकाले पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलायो । बैठकले पाँचै जोनका संयोजक सम्मिलित अन्तर-जोन सामञ्जस्य समिति बनायो । यो समितिले २०१९ सालमा तलबाट बोलाइएको अधिवेशन आयोजना गर्यो । अधिवेशनले बहुमत पक्षका महासचिव केशरजंग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीबी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निस्कासित गर्यो । उता बहुमत पक्षले अल्पमत पक्षको अधिवेशन हुनुअघि नै पुष्पलाल, तुल्सीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई पार्टीबाट निस्कासन गरिसकेको थियो। अल्पमत पक्षले तुलसीलाललाई महासचिव छान्यो भने बहुमत पक्षको महासचिवमा केशरजंग रायमाझी यथावत् रहे।
२०२३ सालसम्म आईपुग्दा कम्युनिष्ट पार्टी लगभग अवसानको संघारमा पुगेको थियो । केशरजंग पञ्चायत तर्फ लागेपछि उनको समूह टुक्रा टुक्रामा छुट्टियो । एकातिर पूर्व मेची कोसी प्रान्तिय कमिटी गठन भयो अर्कोतिर त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए । एक वर्षभित्रै, २०२५ सालमा यो पार्टीका प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए । २०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनमा अर्का दुईवटा प्रष्ट लाइन देखा परे, झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलाल, तुल्सीलाल र केशरजंगको पार्टीका कोही पनि सदस्य यी दुबैमा थिएनन् । केन्द्रिय न्युक्लियसको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्थे । मोहनविक्रमले आफ्नो पार्टीको नाम चौंथो महाधिवेशन राखे । पुष्पकमल दाहाल भने बल्ल पुष्पलालसँग भेट्दै थिए । पुष्पलालसँग दाहाल धेरै समय बसेनन्, मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमा पसे । जहाँ सिंहबाहेक भक्तबहादुर श्रेष्ठ र निर्मल लामाजस्ता नेता थिए । पुष्पलालको पार्टीमा बसेर क्रान्तिको शुरूवात नै नहुने देखिरहेका मोहनचन्द्र अधिकारीलाई संगठन विस्तार गर्न झापा पठाईयो तर पञ्चायतको रक्षा गरिरहेका जमिन्दारको सफाया नगरी सफल हुँदैन भन्ने धारणाका भएकाले सफाया अभियान नै शुरू गरिदिए र फलतः झापा विद्रोहले जरा गाड्यो । यस गुटमा मोहन चन्द्र अधिकारी, सीपी मैनाली, आरके मैनाली, केपी ओली, झलनाथ खनाल लगायतका जोसिला युवकहरू थिए । यस समुहले पञ्चायत फाल्नको लागि चारू मजुमदारको जस्तै झापा विद्रोह चलाएर जमिन्दार विरूध्द हिंसात्मक कार्वाहीहरू गरेको थियो । । २०२८ सम्म आईपुग्दा ने क पाको देशव्यापी रूपमा भन्ने हो भने कुनै नामो निसान बाँकी थिएन; गतिलो संगठन र मोर्चा थिएन । २०३५ मा पुष्पलालको निधनअघि नै उनी निकट रहेका मदन भण्डारी, वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए । जिल्ला जिल्लामा रातो झण्डा, सन्देश ग्रुप, मुक्ति मोर्चा जस्ता नाम दिएर १०,१५ जनाको समुहले दयालु जनताको घरमा सेल्टर स्थापना गर्ने, आफुखुसी कार्यक्रमहरू सञ्चालन गर्ने र सरकारसंग भाग्ने जस्ता गतिविधिहरू गरिरहेका थिए भने पुष्पलाल भारतमा बसेर संयुक्त जनआन्दोलनको वकालत गरिरहेका थिए ।
यता झापाको विद्रोही समूहका सीपी मैनालीले नेतृत्व लिएर आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाए भने रातो झण्डा, सन्देश ग्रुप, मुक्ति मोर्चा जस्ता धेरै समुहहरू लाई गोलबन्द गर्दै २०३५ पुष ११ गते आफ्नै नेतृत्वमा नेकपा (माले) बनाए । ०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । यता पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए । २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बन्यो । २०४६को आन्दोलन अघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो। जसले पछि नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो । आन्दोलन मात्र गरेन साम्यवादको लक्ष्य छोडेर कांग्रेससँगै संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्न उत्रियो। जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भयो। एकतापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो। महासचिवमा मदन भण्डारी छानिए ।
मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्यो। राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो । निर्मल लामाहरूले जनमत संग्रहलाई उपयोग गर्नुपर्छ भन्ने विचार राख्थे । मोहनविक्रम सिंहको एक्लो ढिपीका कारण जनमत संग्रहमा भाग लिने लाईन पारित भएन । २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो। मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राखेर मोहनविक्रमलाई महामन्त्री छान्यो । नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारक बन्यो। महाधिवेशनको बहुमतले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्यो तर उनलाई भने यौनदुराचारको आरोप लगाएर कारबाही गरियो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । अरू मिल्ने र फुट्ने गरे पनि सिंह र प्रचण्डको कहिल्यै मेल भएन । २०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए । महाधिवेशन सकिएको केही समय नबित्दै श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध भन्ने विषयमा मतभेद सुरू भयो । आफूलाई कारबाही गरेको वर्षदिन पछि मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो । पातलो मसाल र मोटो मशालमा उनीहरू विभाजित भए। २०४५ सालमा नेकपा मशालले मोहन वैद्यलाई सेक्टर काण्डमा तयारी नगरी भाग लिएको र पार्टीलाई अपुरणिय क्षति पुगेको निहुमा कार्वाही गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । फुट्दै मिल्दै गरे पनि २०४६ सालको आन्दोलनमा उनीहरू मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाम मोर्चामा नगएर चौंथो महाधिवेशनमा सँगै भएकाहरू नै मिले । नेकपा(मशाल), नेकपा(मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए । २०४७ सालमा बाबुराम भट्टराईले क्रान्तिकारी कम्युनिष्टहरू बिच एकता गर्न खोज्दा मोहनविक्रमले नमाने पछि बाबुरामको नेतृत्वमा विद्रोही मसाल बन्यो जसले चुनावमा संयुक्त जनमोर्चा नेपालको नामले भाग लिएर ९ सीट समेत जित्यो । त्यही साल प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) राखियो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरू भयो । निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन,लिलामणि पोख्रेलहरु मिलेर छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेर्यो, नेकपा माओवादी राख्यो । नाम मात्रै फेरेन उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्यो । यसबीचमा २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो । मिलेको यो पार्टीभित्र फेरि माओवादीलाई हेर्ने दृष्टिकोणमा मतभेद सुरु भयो। २०६३ सालमा उनीहरु फेरि फुटे र मोहनविक्रम सिंह नेतृत्वको मसाल राष्ट्रिय जनमोर्चा नामले पार्टीगत राजनितीमा आयो । २०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र र माओवादीबीच एकता भएर नेकपा (माओवादी) केन्द्र स्थापना भयो । पहिलो संविधानसभा असफल भएपछि मोहन वैद्यले बादल, पम्फा भुषाल, नेत्रविकम चन्द लगायतलाई लिएर नेकपा (क्रान्तिकारी) गठन गरेको केही समयमा नै नेत्रविक्रम चन्दले नेकपा (विप्लव) गठन गरेर भुमिगत सशस्त्र क्रान्ति शुरू गरे भने केही समय पछि प्रचण्डको पार्टीमा बादल लगायतका नेता फर्किएर आएर मिसिए । संविधानले संविधान जारी भए पछि जनताको हक हीतको रक्षा गर्न नसक्ने भन्दै बाबुरामले नयाँ शक्ति पार्टी घोषणा गरेर वैकल्पिक शक्तिको वकालत गर्न थाले ।
यता नेकपा (एमाले)ले संसदीय धारमा रहँदै २०४८ को निर्वाचनमा दोश्रो ठुलो दल बन्न सफल भयो । २०४९ सालमा पार्टीको महाधिवेशनमा जनताको बहुदलीय जनवादको लाईन पारित भयो तथा मनमोहन अध्यक्ष र मदन भण्डारी महासचिव चुनिए । २०५० जेष्ठ ३ गते मदन भण्डारीको दासढुङ्गामा सवारी दुर्घटनामा मृत्यु भएपछि माधव नेपाल महासचिव भए । यसै समयमा नेकपा (बर्मा) र नेकपा (तुल्सीलाल) पनि एमालेमा आएर मिसिए । २०५१ को मध्यावधि निर्वाचनमा ठुलो दलको नाताले अल्पमतको सरकार बनायो तर विश्वासको मत गुमाएर ९ महिनामा नै सरकार ढल्न पुग्यो । २०५४ सालमा महाकाली सन्धि र पानीको बाँडफाँडको विषयमा कुरा नमिले पछि पार्टी फुटेर वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो । २०५८ मा धेरैजना पुनः पार्टीमा फिर्ता भए पनि सीपी मैनाली, ऋषिराम कट्टेलहरू भने फर्किएनन् । २०६३ पछि सीपीको पार्टी पनि फुटेको छ ।
२०७४ को निर्वाचनमा प्रचण्डको पार्टी र एमाले मिलेर चुनाव लडे तथा २०७५ जेठ ०३ गते पुर्व एमाले र पुर्व माओवादीबीच एकिकरण भएर ने क पा गठन भएको छ । यसै क्रममा गोपाल किराँतीले माओवादी केन्द्र व्युताएका छन् भने एमाले पनि निर्वाचन आयोगमा दर्ता भएको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्जीवन पाएका दुवै पार्टिको भविष्यवारे अनेकन अड्कल चलिरहेका छन् ।
हालको अवस्थामा आईपुग्दा निर्वाचन आयोगमा सुचीकृत रहेका १३२ पार्टीहरू मध्ये ५५ भन्दा बढि पार्टीले आफ्नो नाममा कम्युनिष्ट शब्द प्रयोग गरेका छन् भने ८० भन्दा बढि पार्टीको घोषणापत्रमा समाजवादी व्यवस्थाको कल्पना गरिएको छ । दर्ता नभएका, भुमिगत, अर्ध भुमिगत दलहरू को संख्या यकिन छैन तर पनि नेपालमा कम्युनिष्टहरू फुट्ने र जुट्ने सिलसिला जारी नै छ । ड्यास, थोप्लो, कोष्ठक, पातलो/मोटो स/ष जस्ता नाम धारण गरी गरी कम्युनिष्ट हुनु पर्ने वाध्यता हो वा रहर हो समयमा थाहा होला ।
Comments
Post a Comment